देशकै प्रमुख व्यापारिक नाका वीरगञ्जबाट मोटरसाइकल अयातामा उलेख्य वृद्धि भएको छ । सो नाका प्रयोग गरी जिप र कारको आयातमा भने कमी आएको छ ।
गत आर्थिक वर्ष २०८०र८१ को साउनको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा जिप र कारको आयातमा ४० प्रतिशतले कमी आएको छ । सो अवधिमा मोटरसाइकलको आयात शत् प्रतिशतले बढेको छ ।
गत आर्थिक वर्षको साउन महिनामा वीरगञ्ज नाकाबाट रु ४६ करोड ७७ लाखका तीन हजार पाँच सय ७१ थान मोटरसाइकल आयात भएको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी राघुलाल कर्णले जानकारी दिनुभयो । चालु आवको साउनमा भने रु ९४ करोड ४८ लाखका सात हजार एक सय ५० थान मोटरसाइकल आयात भएका थिए ।
वीरगञ्ज भन्सार कार्यालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको साउन महिनामा रु २० करोड ६० लाखका एक सय २७ थान जिप र कार आयात भएका थिए भने चालु आवको सोही अवधिमा रु १४ करोड ४४ लाखको ७६ थान मात्र जिप र कार आयात गरिएको छ । भारत तथा तेस्रो मुलुकबाट पाटपुर्जा भित्र्याइए नेपालमै पेट्रोलबाट चल्ने मोटरसाइकल एसेम्वल्ड गर्ने आयातकर्तालाई सरकारले राजस्वमा ५० प्रतिशत छुट दिएका कारण आयात वृद्धि भएको सूचना अधिकारी कर्णले बताउनुभयो ।
गत आर्थिक वर्षको साउन महिनामा मोटरसाइकल आयातबाट रु ४४ करोड २१ लाख राजस्व सङ्कलन भएको थियो । चालु आवको सोही अवधिमा भने रु ८८ करोड ६४ लाख राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।







