तनहुँ बस दुर्घटनाका १२ घाइतेलाई काठमाडौं ल्याइयो


  प्रकाशित मिति : २०८१ भदौ ७ गते, ५:१७

तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनपहरामा पृथ्वी राजमार्गबाट मस्र्याङदी नदीमा बस खस्दा गम्भीर घाइते भएका १२ जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ।

नेपाली सेनाको हेलिकोप्टरमार्फत थप उपचारका लागि काठमाडौं ल्याइएको हो । हेलिकोप्टरमार्फत ल्याइएका उनीहरुलाई काठमाडौँको महाराजगन्जस्थित त्रि.वि. शिक्षण अस्पताल लगिएको छ ।  थप घाईते उद्धारको लागि हेलिकोप्टर पुन: घटनास्थलतर्फ गएको छ ।

तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरामा भारतीय पर्यटक बोकेको बसमा चालकसहित ४३ जना सवार रहेको खुलेको छ ।

उनीहरुमध्ये ३९ जनाको दुर्घटनास्थलमा उद्धार गरिएको छ भने चार जना अझै बेपत्ता छन् । सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार १४ जनाको मृत्यु भएको छ भने घाइतेहरुको उद्धार भइरहेको छ ।

दुर्घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी दीपककुमार रायले बसमा सवार चालकसहित ४३ जनामध्ये ३९ जनालाई घटनास्थलमा उद्धार गरिएको र चार जना मर्स्याङ्दीमा बेपत्ता रहेको जानकारी दिए । उनका अनुसार १४ जनालाई उद्धार गरी आबुखैरेनी अस्पताल पठाइएको छ ।

पोखराबाट काठमाडौंतर्फ गइरहेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस सडकबाट नदीमा खसेको हो ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।