गुल्मी,स्वरूप परिवर्तन (मोडिफाइड) गरिएका मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय गुल्मीले कडाइ गरेको छ । स्थानीयको गुनासो बढेर गएपछि जिल्ला प्रहरी कार्यालय गुल्मीले स्वरूप परिवर्तन गरी ध्वनि प्रदूषण गर्ने र लापरबाहीपूर्ण तरिकाले तीव्र गतिमा चलाइएका १५२ वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) शङ्कर पोखरेलले जानकारी दिनुभयो । गत असारदेखि विशेष अभियान नै सञ्चालन गरेर ठुलो आवाज निकालेर कोलाहल मच्चाउँदै हिँड्ने सवारीलाई नियन्त्रण गरिएको छ । स्वरूप परिवर्तन (मोडिफाइड) गरी ध्वनि प्रदूषण गर्ने, साईलेन्सर पाइपबाट आगो समेत निकाल्ने गरी स्वर बिगारेका, मापदण्ड विपरीत सानो अक्षरमा लेखिएको नम्बर प्लेट राखिएका, रङ्गीचङ्गी स्टिकर, ब्लुबुकमा उल्लेख गरेभन्दा फरक रङ्ग बनाई सवारी चलाउने, सिट हाइट बढाएका मोटरसाइकललाई नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा ल्याइएका सबै मोटरसाइकललाई वास्तविक स्वरूपमा ल्याउन लगाइ सम्बन्धित व्यक्तिको जिम्मा लगाइएको छ पछिल्लो समय स्वरूप परिवर्तन र तीव्र गतिमा चलाइने मोटरसाइकलको कडाइसँगै अन्य सवारी चेकजाँचलाई तीव्रता दिएको हुँदा मापसे गरी सवारीसाधन चलाउनेहरूमा कमी आएको पाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।






