बजेट अभावका कारण सडक स्तरोन्नतिको काम प्रभावित


  प्रकाशित मिति : २०८१ भदौ ५ गते, १२:४९


बजेट अभाव भएपछि नेपालगञ्ज–गुलरीया सडक स्तरोन्नतिको काम प्रभावित बनेको छ । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्ज र निर्माण कम्पनी शर्मा एण्ड शर्मा कम्पनीले आगामी दशैंभित्र बर्दिया सदरमुकाम गुलरियासम्म सडकको काम पूरा गर्ने लक्ष्यसहित काम गरिरहेको भए पनि निर्माण कम्पनीले समयमै भुक्तानी पाउन नसक्दा सडकको काम प्रभावित हुन पुगेको हो ।राष्ट्रिय गौरवका आयोजनामा बजेट अभावमा निर्माण कम्पनीलाई भुक्तानी दिन नसक्दा काम नै प्रभावित हुन थालेको हो । शर्मा एण्ड शर्मा कम्पनीलाई गत आवमा सम्पन्न भएको कामको करिब ४० करोड रुपियाँ चालु आवको साउनमा भुक्तानी दिइएको छ । करिब २८ करोड रुपियाँ भुक्तानी दिन बाँकी रहेको योजना कार्यालयले जनाएको छ ।
यो सडक खण्डको बाँके खण्डमा सडक कालोपत्रे भइसकेको छ । बर्दियामा पनि कलोपत्रेको काम जारी छ । पछिल्लो समय बजेट अभावले काममा सुस्तता आएको कार्यालयले जनाएको छ । शर्मा एण्ड कम्पनीले मूल्य अभिवृद्धि कर बाहेक दुई अर्ब ७८ करोड २९ लाख रुपियाँमा निर्माणको जिम्मा पाएको छ । ११.६ किलोमिटर चार लेन र १६.०२ किलोमिटर दुई लेन गरी २७.६२ किलोमिटर लामो सडक बिस्तार कार्य २०८२ मङ्सिर २७ गते तीन वर्षमा सम्पन्न हुनेगरी गतबर्ष माघ १५ गतेदेखि निर्माण कार्य सुरु भएको हो । यो सडक अन्तर्गत मानव वस्ती भएको स्थानमा चार लेन र सामान्य क्षेत्रमा दुई लेनको सडक बन्दैछ

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।