गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले राइड सेयरिङ सम्बन्धी कार्यविधिमा यातायात व्यवसायी र यातायात मजदुर प्रतिनिधिहरुको सुझावलाई समेटिने बताउनु भएकोछ । यातायात व्यवसायी तथा मजदुर प्रतिनिधिहरुसंग कुराकानी गर्दै मुख्यमन्त्री पाण्डेले त्यस्तो कुरा बताउनु भएको हो ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघका नेतृत्वले मुख्यमन्त्रीको कार्यालयमा गरेको छलफलमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ६ र ८ विपरित सञ्चालित राइड सेयरिङलाई व्यवस्थापन गर्ने र सार्वजनिक यातायातलाई समयसापेक्ष सुधार गर्ने विषयमा कुराकानी भएको हो ।
गत साउन १३ गते यातायात व्यवसायी र मजदुरहरुले गरेको गण्डकी बन्द र त्यसले उत्पन्न समस्या र सार्वजनिक यातायात व्यवस्थापनका बारेमा भेटमा कुराकानी भएकोछ ।
ऐनको दफा ८ मा रातो नम्बर प्लेटको निजी सवारी साधनले यात्रु ओसारपसार गर्न नपाउने व्यवस्था विपरित दुइपाङ्ग्रे तथा चार पाङ्ग्रे निजी सवारीसाधनले निर्वाध यात्रु ओसारपसार गरिरहेकाले यसलाई नियन्त्रण गर्नुको सट्टा सरकारले कानुन संशोधननै नगरी अनुमति दिएकोप्रति मुख्यमन्त्रीको ध्यानाकर्षण गराइएको थियो ।
छलफलमा मुख्यमन्त्री पाण्डेले संघिय कानुन तत्काल संशोधन नभएकाले प्रदेशमा कार्यविधि बनाएर राइड सेयरिङलाई नियमन गर्न खोजिएकाले सहयोग गर्न व्यवसायी मजदुर प्रतिनिधिहरुसंग आग्रह गर्नुभयो ।
राइड सेयरिङ समयको आवश्यक्ता भएपनि कानुनी दायरामा नल्याई त्यसलाई बैधानिकता दिन नहुने व्यवसायी मजदुरहरुले सुझाएका थिए । लगानीको संरक्षण, श्रमिकहरुको व्यवस्थापन र यात्रुहरुको सेवालाई व्यवस्थित गर्न तर्फ सरकारले ध्यान दिनु पर्ने मुख्यमन्त्रीलाई सुझाव दिएकोछ ।
प्रदेश सरकारले बनाएको कार्यविधिमा व्यवसायी र मजदुरहरुको सुझावलाई समावेश नगराई कार्यान्वयन नगर्न मुख्यमन्त्रीलाई सुझाव दिइएको छ । मुख्यमन्त्री पाण्डेले समेत व्यवसायी श्रमिकहरुका प्रतिनिधिहरुको प्रतिनिधित्व हुने प्रतिवद्धता व्यक्त गर्नु भएकोछ ।
छलफलमा महासंघका अध्यक्ष विजय स्वाँर, वरिष्ठ उपाध्यक्ष सरोज सिटौला, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राई, अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष दिपक केसी, नेपाल यातायात मजदुर संघका अध्यक्ष धर्मराज भण्डारी सहभागी रहनुभएको थियो ।
त्यस्तै महासंघका उपमहासचिव पुरुषोत्तम सिंखडा, कोषाध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ, गण्डकी प्रदेश संयोजक केदार पौडेल, पोखरेली ट्याक्सी सेवा प्रालिका संस्थापक अध्यक्ष प्रकास तिवारी, अध्यक्ष शोभाकान्त पौडेल, वरिष्ठ उपाध्यक्ष सूर्यबहादुर थापा, उपाध्यक्ष रामजी घिमिरे लगायतको सहभागीता रहेको थियो ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।







