अविरल वर्षाका कारण राष्ट्रिय गौरवको आयोजना सालझण्डी–ढोरपाटन सडक अवरुद्ध हुँदा भक्तजन अलपत्र परेका छन् । सालझण्डी–ढोरपाटन सडकअन्तर्गत बागलुङको ढोरपाटन नगरपालिका–७ धारबोटस्थित सडक माथिदेखि पहिरो खस्दा आज दिउँसोदेखि सडक ठप्प भएको हो ।
सडक पूर्ण रूपमा अवरुद्ध हुँदा नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनस्थित ढोरबराह मन्दिरमा पूजा गरेर फर्किने सयौँ भक्तजन समस्यामा परेको ढोरपाटन नगरपालिका उपप्रमुख धनबहादुर कायतले जानकारी दिनुभयो । सोमबार रातिदेखि परेको वर्षाले सडकका धेरै ठाउँमा पहिरो झरेकाले खुलाउने प्रयास भइरहेको उहाँले बताउनुभयो । “रातिबाट नै ठूलो पानी परेको थियो, भारी वर्षा हुँदा सडक पूर्ण रूपमा बन्द भएको हो । सडक अवरुद्ध हुँदा धेरैलाई समस्या परेको छ । हामीले सडक खुलाउने प्रयास गरिरहेका छौँ”, उपप्रमुख कायतले भन्नुभयो, “जनैपूर्णिमामा ढोरबराह मन्दिरमा पूजाआजाका लागि देशभरबाट आउनुभएका भक्तजन फर्कन थाल्नुभएको थियो । सडक अवरुद्ध हुँदा उहाँहरू समस्यामा पर्नुभएको छ ।”
यस सडकको विभिन्न ठाउँ भूजीखोलाले कटान गरेको छ । भारी वर्षा भएपछि सडकको ठाउँठाउँमा पहिरो गएकाले यात्रा गर्दा सतर्कता अपनाउन नगरपालिकाले आग्रह गरेको छ ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।







