गुल्मी जिल्लामा करोडौँ मूल्यका सरकारी नम्बर प्लेटका गाडी प्रयोग नहुँदा थन्किएर बसेका छन । जिल्ला समन्वय समिति गुल्मीको परिसरमा रहेका करोडौँ मूल्य पर्ने चार वटा ल्यान्डरोभर कम्पनीका गाडी र गुल्मी अस्पतालका बिरामी बोक्ने दुई वटा एम्बुलेन्स लामो समयदेखि थन्किएर बसेका हुन् । गुल्मी जिल्लामा सरकारी कार्यालय र स्थानीय तहमा गरी ३८ वटा मोटरसाइकल प्रयोग विहीन अवस्थामा रहेको पाइएको छ । ६ वटा गाडीमध्ये कार्यालयमा हेर्दा कुनैको अभिलेख छ भने कुनै सरकारी गाडीको अभिलेखसमेत नपाएको पाइएको छ । समन्वयको परिसरमा रहेका चार वटा गाडीमध्ये दुई वटा गाडीको कार्यालयमा अभिलेख पाइन्छ भने दुई गाडी बेवारिसे अवस्थमा रहेका छन । चार वटा ल्यान्डरोभर कम्पनीका गाडीमध्ये बा.१ झ ६६८० र ६६८१ नम्बरका गाडी मात्रै कार्यालयको अभिलेखमा रहेको सूचना अधिकारी सिर्जना मिश्राले जानकारी दिनुभयो । अन्य दुई गाडी कार्यालय परिसरमा भए पनि अभिलेख नभएको उहाँको भनाइ छ । उहाँका अनुसार अभिलेखमा रहेका दुई गाडीको पनि लामो समयदेखि नवीकरण भएको पाइँदैन । तीमध्ये एउटा गाडीको नम्बर प्लेट नै छैन भने अर्कोको राम्रोसँग बुझ्न सकिँदैन ।
यसैगरी बिरामी बोक्ने गुल्मी अस्पतालका दुई वटा एम्बुलेन्स बर्सौंदेखि थन्किएर बसेका छन् । लु. १ झ २७९ नम्बर र लु. १ झ २३५ नम्बरको एम्बुलेन्स थन्किएर बसेको गुल्मी अस्पतालका सूचना अधिकारी रमेशप्रसाद पन्थीले जानकारी दिनुभयो । लिलाम बिक्री गर्न राजस्व छुट र अनुदानमा आएका एम्बुलेन्सका लागि धेरै झन्झटिलो हुने गरेकाले समस्या भएको उहाँको भनाइ छ । जिल्ला दूरसञ्चार कार्यालयको भवनअगाडि एउटा डोजरको भग्नावशेष छ । गुल्मीमा दूरसञ्चार कार्यालय स्थापनाकालदेखि नै उक्त डोजर उही अवस्थामा छ । हालसम्म पनि कुनै कम्पनी वा व्यक्तिले डोजर दाबी गर्न आएका छैनन् । उक्त डोजर आफूहरूलाई निल्नु न ओकल्नु भएको कार्यालयले जनाएको छ । गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले प्रयोगविहीन अवस्थामा रहेका गाडी र मोटरसाइकलको विवरण सङ्कलन गरिएको बताउनुभयो । हालसम्म प्राप्त जानकारी अनुसार जिल्लामा चार वटा गाडी र ३८ वटा मोटरसाइकल लिलाम बिक्री गर्नुपर्ने अवस्थामा रहेको उहाँले बताउनुभयो । ती गाडी लामो समयदेखि नवीकरण नभएकाले लिलाम बिक्रीमा समस्या रहेको शर्माले बताउनुभयो ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।






