एसियाली विकास बैंक (एडीबी)ले लुम्बिनी विकास कोषका लागि पर्यटक बोक्न किनिदिएका विद्युतीय गाडी ५ वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका छन् । २०७७ सालमा १४ बटा विद्युतीय बस र ५ वटा भ्यान ल्याइएको थियो । ती सवारी साधन विभिन्न कानुनी प्रक्रिया नमिलेको भन्दै थन्क्याएर राखिएको छ ।
एडीबीले विद्युतीय गाडी, चार्जिङ गर्ने स्टेसन र सोलार इनर्जीसमेत उपलब्ध गराउने सम्झौता गरेअनुरूप २०७७ साल मङ्सिरमा गाडी ल्याए पनि विभिन्न कानुनी कारणले सञ्चालन गर्न नसकेको लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामाले बताए ।
उनले भने, ‘यी गाडी चलाउन विभिन्न प्रक्रिया गर्दा ढिलो भयो । अब जसरी हुन्छ चलाउनुपर्छ । हामी त्यसका लागि प्रयासरत छौँ ।’
लुम्बिनी विकास कोषमा सूचना अधिकारी डा हरिध्वज राईका अनुसार ती गाडी लुम्बिनी विकास कोषको नाममा ल्याउन झन्डै ३ वर्ष लागेको बताए ।
ती गाडी सेतो नम्बर प्लेटमा रहेकाले पर्यटक बोक्न अर्को समस्या भएको उनको भनाइ छ । हरियो नम्बर प्लेट लिनका लागि सङ्घ हुँदै प्रदेशको यातायात तथा सवारी व्यवस्था कार्यालयमा आएर प्रक्रिया रोकिएको उनले बताए ।
यातायात व्यवस्था कार्यालय बुटवलले प्रचलित सवारी तथा यातायात व्यवस्था ऐनमा सरकारी नम्बर प्लेटका गाडी अर्को कुनै प्लेटमा परिवर्तन गर्न पाउने प्रावधान नरहेको भन्दै रोकिएको हो ।
लुम्बिनी प्रदेश सरकारका प्रवक्ता मन्त्री दिनेश पन्थीले आफूहरू भर्खर आएकाले त्यो विषयमा विस्तृत अध्ययन गरेर लुम्बिनीमा विद्युतीय बस चलाउन सहजीकरण गर्ने बताए ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।







