अझै खुलेन हेलिकप्टर दुर्घटनामा परेका चिनियाँ नागरिकको पहिचान


  प्रकाशित मिति : २०८१ साउन २७ गते, १:१८

एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनामा परेका चिनियाँ नागरिकको पहिचान अझै नखुलेको बताइएको छ । दुर्घटनामा परेका चिनियाँ नागरिकको परिवारबाट तथ्य संकलनमा ढिलाइ भएपछि पहिचान खुल्न नसकेको हो ।

चिनियाँ पर्यटक जुदाड टाङ (पुरुष्), जी ली (पुरुष), यियाद वु (महिला) र जेमिङ सी (पुरुष) को शव पहिचानका लागि अझै तथ्यांक संकलनको काम भइरहेको त्रिवि शिक्षण अस्पताल फोरेन्सिक विभागले जनाएको छ । मृतकको शवको पहिचान डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन प्रणालीबाट (पोस्टमार्टम) पहिचान गरिन्छ ।  त्रिवि शिक्षण अस्पताल फोरेन्सिक विभागका प्रमुख डा.गोपालप्रसाद चौधरीका अनुसार आफन्तबाट मृतकको पहिचान विवरण संकलन हुन सकेको छैन । डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन प्रणालीबाट पोस्टमार्टम गर्दा सुरुमा शव पहिचानका लागि फिंगर प्रिन्ट, डेन्टल (दाँतको भाग) र शरीरमा स्थायी रूपमा बनेका संकेतहरू (खत, ट्याटु आदि), पहिरन, गहना लगायत हेरिने विभागले जनाएको छ ।

गत २३ गते बुधबार दिउँसो काठमाडौँ विमानस्थलबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको एयर डाइनेस्टीको हेलिकप्टर नुवाकोटको शिवपुरीमा दुर्घटना भएको थियो । सो दुर्घटनामा परी क्याप्टेन अरुण मल्लसहित चार चिनियाँ नागरिकको मृत्यु भएको थियो । मल्लको शव भने परिवारलाई जिम्मा लगाइएको छ ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।