अन्नपूर्ण र मुस्ताङ कम्पनीका हेलिकोप्टर उडानमा रोक


  प्रकाशित मिति : २०८१ साउन २५ गते, १:२५

नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०ले अन्नपूर्ण र मुस्ताङ हेलिकोप्टर उडानमा रोक लगाएको छ । सन् २०२४ को सात महिनाको अडिटमा सेफ्टी म्यानेजमेन्ट सिस्टम ‘एसएमएस’ ६० प्रतिशतभन्दा कम भएकाले दुईवटै हेलिकोप्टर कम्पनीलाई तत्कालै लागू हुने गरी उडानमा रोक लगाइएको क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिनुभयो ।

उडान सुरक्षामा कमजोर देखिएपछि क्यानले दुवै हेलिकोप्टर कम्पनीलाई एयर अपरेटर सर्टिफिकेट (एओसी) किन निलम्बन नगर्ने भनेर ७२ घण्टाभित्र सफाइ पेस गर्न स्पष्टीकरण सोधेको छ । ‘नागरिक उड्डयन नियमावली, २०५८ ले कुनै पनि वायुसेवा कम्पनीको एओसी निलम्बन वा खारेजी गर्नुभन्दा पहिला सम्बन्धित वायुसेवा कम्पनीलाई सफाइ पेस गर्ने मौका दिइनेछ भन्ने व्यवस्था गरेको छ, सोहीबमोजिम दुवै वायुसेवा कम्पनीलाई सफाइ पेस गर्न तीन दिनको समय दिइएको हो,’ उहाँले भन्नुभयो, ‘तीन दिनभित्र यथार्थपरक र प्रमाणसहित सन्तोषजनक जवाफ प्राप्त नभएमा एओसी निलम्बन गरिनेछ ।’

सेफ्टी म्यानेजमेन्ट सिस्टम कम भएका वायुसेवालाई ‘यति समयभित्र इम्प्रुभमेन्ट यति प्रतिशतसम्म पुर्‍याउँछु’ भनेर कम्पनीको स्पष्ट कार्ययोजना खोजेको उहाँको भनाइ छ ।

अन्नपूर्णसँग एउटा र मुस्ताङसँग दुईवटा हेलिकोप्टर छन् । एक वर्षदेखि मुस्ताङले आफैँ हेलिकोप्टर ग्राउन्डेड गरेर राखेको थियो ।

पछिल्लो समय दुई साताको अन्तरमा दुईवटा हवाई दुर्घटना भएका छन् । ९ साउनमा सौर्य एयरको सिआरजे जहाज त्रिभुवन विमानस्थलपरिसरमै दुर्घटना हुँदा १८ जनाको निधन भएको थियो । बुधबार मनाङ एयरको हेलिकोप्टर दुर्घटना हुँदा क्याप्टेन र चारजना चिनियाँ नागरिकको निधन भएको छ ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।