राष्ट्रिय गौरवको काठमाडौं–तराई(मधेस द्रूतमार्गको भौतिक प्रगति ३५ प्रतिशत पुगेको जानकारी नेपाली सेनाले दिएको छ ।
निर्माणधीन द्रूतमार्गको घट्टेपाँखा–धेद्रे सुरुङ छिचोल्ने कार्यक्रमका क्रममा प्रस्तुतिकरण गर्दै नेपाली सेनाले यसबारेमा जानकारी दिएको हो ।
मकवानपुरको बकैया गाउँपालिका–१२ धेद्रेस्थित काठमाडौं–निजगढतर्फको एक दशमलव सात सय २८ किलोमिटर लामो सुरुङ सोमबार ‘ब्रेक थ्रू’पछिको कार्यक्रममा सेनाले यसबारेमा जानकारी दिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री विष्णु पौडेल तथा चीन र दक्षिण कोरियाका राजदूतसमेतको उपस्थितिमा भएको उक्त कार्यक्रममा सेनाले २०८३ चैतसम्म ट्रयाक खोलिसक्ने जानकारी दिएको हो ।
आयोजनाको हालसम्मको प्रगतिबारे नेपाली सेनाको तर्फबाट गरिएको प्रस्तुतिकरणका क्रममा भौतिक प्रगति ३५.३८ प्रतिशत रहेको उल्लेख गरिएको छ । सेनाले यो आयोजना २०८३ चैत्रसम्म सम्पन्न गर्ने लक्ष्य लिइएको जनाएको छ ।
सुरुङ ब्रेक थ्रू कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवको यस आयोजनाले नेपालको अर्थतन्त्रमा विशेष महत्त्व राख्ने उल्लेख गर्नुभयो ।
यो आयोजनाले प्रविधि हस्तान्तरण र आधुनिक प्रविधिको प्रयोगमा नयाँ अनुभव हासिल गर्न सघाउ पुगेको उहाँको भनाइ थियो ।
विगतको तुलनामा सामाजिक, आर्थिक र भौतिक पूर्वाधारको क्षेत्रमा उल्लेख्य प्रगति भएको बताएका उनले यी क्षेत्रका काम अगाडि बढाउन सक्षम जनशक्ति आवश्यक पर्ने जानकारी दिनुभयो ।
आयोजनामा आउने जस्तोसुकै बाधालाई सरकारको तर्फबाट समाधान गर्ने आश्ववासन दिँदै उनले जग्गा प्राप्तिमा रहेका अवरोध हटाँउदै तीव्र गतिमा आयोजना सम्पन्न गर्न सहयोग रहने प्रतिबद्धता जनाउनुभयो ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।







