वैदेशिक रोजगारीमा दैनिक ३ देखि ४ जना नेपालीले ज्यान गुमाउने तथ्यांक सार्वजनिक


  प्रकाशित मिति : २०८१ साउन २० गते, २:२३

✍️विशाल अधिकारी

काठमाडौँ–प्रत्येक वर्ष नेपालको आन्तरिक श्रम बजारमा प्रवेश गर्ने श्रम शक्तिमध्ये अधिकांश रोजगारीका लागि मलेसिया,साउदी अरव लगायतका खाडी मुलुकका साथै विश्वका अन्य विभिन्न मुलुकहरूमा जाने गरेका छन् । वैदेशिक रोजगारीबाट प्राप्त हुने विप्रेषण राज्यको लागि विदेशी मुद्रा आर्जन गर्ने एक प्रमुख स्रोत बन्न पुगेको छ । आन्तरिक श्रम बजारमा पर्याप्त मात्रामा रोजगारीको अवसर उपलब्ध नहुनाले युवा जनशक्ति रोजगारीका लागि विदेशिनु परेको छ । आ.व. २०६५÷०६६ देखि २०७०÷०७१ सम्म श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकहरूको संख्या प्रत्येक वर्ष क्रमिक रूपमा वृद्धि हुँदै गएको देखिन्छ । तर आ.व. २०७१÷०७२ देखि २०७७÷०७८ सम्म क्रमिक रूपमा घट्दै गएको देखिन्छ । यो आवको १० महिनाको अवधिमा पुनःवैदेशिक रोजगार जानेको संख्यामा क्रमिक रूपमा वृद्धि भई कुल ६,५६,६१० जनाले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएको विभागको तथ्यांकबाट देखिन्छ । यस हिसाबले आ.व.२०६५÷०६६ देखि आ.व. २०७९÷०८० को प्रथम दश महिनासम्ममा ३,४४,६७९ महिला र ५३,१२,७६४ पुरुष गरी कुल ५६,५७,४४३ जना नेपाली नागरिकले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएको देखिएको छ । यिनै नागरिकहरूले विदेशी भूमिमा कमाई गरी उल्लेखित अवधिभित्र ९४ खर्ब ९२ अर्ब रूपैयाँ विप्रेषण रकम नेपाल पठाएको तथ्य नेपाल राष्ट्र बैङ्कबाट प्रकाशित प्रतिवेदनहरूमा उल्लेख छ ।

वैदेशिक रोजगारीमा गएका नेपालीको तथ्यांक २०६५ बाट २०८० सम्म

२०८०।८१मा वैदेशिक रोजगारीमा नेपालीले ज्यान गुमाउने देखि अन्य तथ्यांकहरु

नेपालको अर्थतन्त्रलाई मजबुत तथा चलायमान बनाइ राख्न विप्रेषणको योगदान महत्वपूर्ण रही आएको छ भने अर्कोतर्फ सोही अवधिभित्र विविध कारण ११,८९२ जनाले ज्यान गुमाउनु परेको छ भने २,३६३ जनाभन्दा बढी अङ्गभङ्ग वा प्रतिकुल स्वास्थ्य अवस्थामा स्वदेश फर्किनु परेको तीतो यथार्थ पनि हामीसँग छ । वैदेशिक रोजगार बोर्डले दिएको तथ्याकं अनुसार दैनिक सरदरमा ३ देखि ४ जनाले ज्यान गुमाउने गरेको तथ्यांक सार्वजनिक भएको छ । वैदेशिक रोजगार बोर्डले दिएको तथ्यांक अनुसार २०८०।८१ मा मात्रै १ हजार ३ सय ४६ जनाले वैदेशिक रोजगारीमा ज्यान गुमाएको भन्ने तथ्यांक रहेको छ । जसमा पुरुषको संख्या १ हजार ३ सय ५जना रहेको छ भने ४१ जना महिला रहेका छन् । यो आ.वमा ६५३ जना श्रमिक अंगभंग भएका छन् जसमा ६१७ जना पुरुष र ३६ जना महिला रहेको वैदेशिक रोजगार बोर्डका प्रवक्ता टिकाराम ढकालले जानकारी दिनुभयो ।

आ.व २०८०–८१ मा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या झन्डै साढे सात लाख रहेको छ । वैदेशिक रोजगार विभागका अनुसार आव २०८०–८१ मा सात लाख ४३ हजार ५९७ जना श्रम स्वीकृति लिएर विदेसिएका छन् । वैदेशिक रोजगारीका लागि गत आवमा श्रम स्वीकृति सबैभन्दा धेरै जेठ महिनामा ७२ हजार ८६१ जनाले श्रम स्वीकृति लिएका छन् भने सबैभन्दा कम कात्तिक महिनामा ४३ हजार ६२२ जनाले श्रम स्वीकृति लिएर विदेश गएका छन् । वैशाख महिना ७० हजार ७३७ जना,चैत महिना ७० हजार ९३३ जना, फागुुन महिना ६५ हजार ७५८ जना श्रम स्वीकृति लिएर विदेसिएका छन् । त्यसै गरी माघ महिनामा ६२ हजार १४३ जना, पुस महिनामा ६५ हजार ८१३ जना, मङ्सिर महिनामा ६८ हजार २०१ जना, असोज ५७ हजार २३५ जना, भदौ महिनामा ५० हजार ८८४ जना र साउन महिनामा ५५ हजार ५७५ जना श्रम स्वीकृति लिएर विदेश गएका छन् । बोर्डको तथ्यांक अनुसार २०६५।६६ बाट अहिले सम्म श्रम स्वीकृति लिएर विदेशजाने को संख्या ६५ लाख १३ हजार ४६२ जना रहेको छ यो संख्या बैधानिक हो अवैधानिक रुपमा विदेश जानेको संख्या नगन्य रहेको छ । ६५ लाख मध्ये ६० लाख ७४ हजार ९ सय ९ जना पुरुष र ४ लाख ३८ हजार ५ सय ४८ महिला रहको तथ्यांक छ । राष्ट्र बैँकको तथ्यांक अनुसार २०६५ बाट २०८१ को असार मसान्त सम्म कुल १ सय १० दशमलव १३ खर्ब रुपैया रेमिट्यान्स आएको छ । यो पनि बैधानिक रुपमा आएको रेमिट्यान्स हो ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।