चाडपर्वमा राजमार्गका सबै अवरोध हटाउँछौँ : यातायातमन्त्री


  प्रकाशित मिति : २०८१ साउन १७ गते, ११:४८

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले दसैँतिहार चाडपर्व नजिकिँदै गर्दा राजमार्र्गमा आउने सबैखाले अवरोध हटाएर जनतालाई सुरक्षित यात्रा गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

उहाँले अवरोध भएको खण्डमा तुरुन्तै व्यवस्थापन गर्ने प्राविधिक टोली तैनाथ गरिने जानकारी दिनुभयो । प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको बैठकमा उहाँले जनताले सडकको सास्ती खेप्न नदिन मन्त्रालय सचेत रहेको बताउनुभयो । “हामी सडक सहज र यातायात सुरक्षित बनाउन योजनाबद्ध भएर काम गर्ने प्रतिबद्ध छौँ”, उहाँले भन्नुभयो, “खासगरी पर्वका बेला जनताले खेप्ने सास्ती हटाउने प्रयासमा छौँ ।”

बैठकमा सांसदहरूले नागढुङ्गा–मुग्लिङ सडकखण्ड विस्तार र नागढुङ्गा सुरुङमार्गको अनुगमनगरी मन्त्रीसमक्ष अवस्थाबारे जानकारी गराउनुभएको थियो । साथै सांसदहरूले नागढुङ्गा–मुग्लिङ सडक खण्डलको दयनीय अवस्था रहेको र चाडपर्व नजिकिँदै गर्दा जतिसक्दो चाँडो व्यवस्थापन गर्न मन्त्रालयलाई सुझाव दिनुभयो । सुरुङमार्ग निर्माणमा देखिएका जटिलताका बारेमा सांसदहरूले छलफल चलाएका थिए । अनुगमन गर्दा सुरुङ निर्माणका क्रममा पूर्वी ‘पोर्टल’ मा रहेका घरहरू चर्केको, सिङ्क होल उत्पन्न भएकाले आयोजनाको काम पटकपटक बन्द भएको, बलम्बु फ्लाई ओभर निर्माण हुने क्षेत्रमा भएको समस्या, जग्गाप्राप्तिका विषयमा विविध समस्या रहेको, अधिग्रहण भएको जग्गा र मुआब्जामा समस्या देखिएको, आयोजनाको पश्चिमद्वार नजिकै निर्माण हुने ‘रोड साइड सर्भिस स्टेशन’ का लागि प्राप्त गर्नुपर्ने जग्गा स्वामित्वका बारेमा विवाद रहेको सांसदहरूले निष्कर्ष निकालेका थिए ।

सडक विभागका महानिर्देशक रामहरि पोख्रेलले सुरुङ निर्माणमा जग्गाको मुआब्जा दिन सम्भव नरहेको बताउनुभयो । जग्गा मुआब्जा दिन थाल्ने हो भने निर्माण कार्यमा निकै असर पर्ने उहाँले जानकारी दिनुभयो । सांसद शङ्कर भण्डारीले ‘चेकपोष्ट’ मा हुने ट्राफिक जामले जनताले सास्ती भोग्नुपरेको बताउँदै त्यसलाई हटाउन मन्त्रीलाई सुझाव दिनुभयो । सांसद ठाकुर गैरेले देशभरिकै थोत्रा सवारीसाधनको बिक्री गर्न जरुरी रहेको बताउनुभयो । सांसद महेश बस्नेत, निशा डाँगी, शिव नेपाली, रोजेन्द्र बजगाईं, सुशीला श्रेष्ठ, उर्मिला माझी, दिनेश यादव, बीना लामा, माधव सापकोटालगायतले सडक पूर्वाधारसम्बन्धी समस्याबारे मन्त्रालयमा ध्यानाकर्षण गराउनुभएको थियो ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।