सर्भर डाउन हुँदा देशभरका यातायात कार्यालयको काम ठप्प भएको छ । आज बिहानबाट सर्भरमा समस्या आएकाले देशभरका यातायात कार्यालयको काम प्रभावित भएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका देशभरिका यातायात कार्यालयहरुको कामकारबाही प्रभावित भएको छ ।

यातायात व्यवस्था विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरुले सर्भर डाउन हुँदा देशभरका यातायात कार्यालयको काम प्रभावित भएको बताउनु भयो । अन्य मन्त्रालय तथा विभागहरूमा जस्तै इन्टरनेटको समस्याका कारण यातायात कार्यालयहरूमा समेत प्रभावित हुन पुगेको यातायात व्यवस्था विभागले जनाएको छ ।
नेपालमा प्रत्येक दिन औसत ९७ वटा सानाठूला सवारी दुर्घटना,औसतमा सात जनाको मृत्यु
नेपालमा प्रत्येक दिन औसत ९७ वटा सानाठूला सवारी दुर्घटना हुने गरेका छन् । ती दुर्घटनामा परी दैनिक औसत सात जनाले ज्यान गुमाउने तथा ८८ जना घाइते हुने गरेका छन् । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार गत वर्ष मात्रै ३५ हजार चार सय चार वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा परी दुई हजार तीन सय ६८ जनाको मृत्यु भएको छ भने छ हजार एक सय ६० गम्भीर र २५ हजार नौ सय ९६ जना साधारण घाइते भएका छन् । सवारी दुर्घटनामा एक सय एक चौपायासमेत मरेका छन् । सबैभन्दा बढी दुई पाङ्ग्रे सवारी बढी दुर्घटनामा पर्ने गरेको प्रहरीको तथ्याङ्क छ । गतवर्ष १९ हजार नौ सय ८४ मोटरसाइकल÷स्कुटर, छ हजार आठ सय ३७ कार÷जिप, दुई हजार एक सय ९३ बस, एक हजार पाँच सय २० साइकल÷रिक्सा, एक हजार चार सय ६८ ट्रक÷ट्याङ्कर, एक हजार चार सय ७४ टेम्पो÷म्याजिक, सात सय ८३ ट्रयाक्टर र चार सय माइक्रोबस दुर्घटना भएका थिए ।
ट्राफिक प्रहरीले गत वर्ष एक अर्ब ७५ करोड ट्राफिक राजस्व संकलन,२२ लाख ९१ हजार आठ सय १७ वटा कारबाहीमा
ट्राफिक प्रहरीले गत वर्ष २२ लाख ९१ हजार आठ सय १७ वटा कारबाहीमा एक अर्ब ७५ करोड ८१ लाख ८६ हजार सात सय ६० राजस्व सङ्कलन गरेको छ । गत वर्ष २४ लाख वटा ट्राफिक कारबाहीमा रु एक अर्ब ८८ करोड राजस्व सङ्कलन भएको थियो । प्रहरीले सङ्गठनको आचरणविपरित काम गर्ने एक हजार सात सय एक प्रहरी कर्मचारीलाई कारबाही गरेको छ । कारबाहीमा पर्ने सबैभन्दा बढी प्रहरी जवान छन् । गतवर्ष तीन प्रहरी वरिष्ठ उपरीक्षक, एक प्रहरी उपरीक्षक, ११ प्रहरी नायब उपरीक्षक, २६ प्रहरी निरीक्षक, १६ प्रहरी वरिष्ठ नायब निरीक्षक, ४८ प्रहरी नायब निरीक्षक, एक सय १८ प्रहरी सहायक निरीक्षक, ६७ प्रहरी वरिष्ठ हवल्दार, दुई सय ८२ प्रहरी हवल्दार, तीन सय ३८ प्रहरी सहायक हवल्दार, सात सय ६४ प्रहरी जवान र २७ प्रहरी कार्यालय सहयोगीलाई कारबाही गरिएको प्रहरी प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।
न्युरोडमा फुटपाथ विस्तारको विरोधमा आजपनि सडकबाटै काम,समस्या समाधान नहुँदासम्म सडकबाट सेवा दिने
न्युरोडमा फुटपाथ विस्तारको विरोधमा काठमाडौँ महानगरपालिका–२२ ले आज पनि सडकबाटै नागरिकलाई सेवा दिने जनाएको छ । आइतबारदेखि वडाध्यक्ष चिनीकाजी महर्जनलगायतले वडाको काम सडकमा पाल टाँगेर गर्न थालेका हुन् । उक्त कार्यलाई आज पनि निरन्तरता दिने वडाध्यक्ष महर्जनले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,“वडावासीको माग सम्बोधन नभएसम्म नागरिकको सेवा सडकबाट सञ्चालन गर्नेछौँ । यस विषयमा छलफल गर्न अहिलेसम्म महानगर प्रमुखले कुनै जानकारी दिनुभएको छैन । समस्या समाधान नहुँदासम्म सडकबाट सेवा दिनेछौँ ।” उच्च अदालत पाटनको आदेशपछि महानगरले न्युरोडको जुद्ध सालिकबाट दक्षिणतर्फको धर्मपथ आसपासमा सडक विस्तार गर्न सुरु गरेपछि स्थानीयले विरोध जनाउँदै आएका छन् ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारका लागि तेस्रो पटक म्याद थपिँदै

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारका लागि फेरि एक वर्ष म्याद थपिने भएको छ । निर्धारित समयमा निर्माण कम्पनीले काम गर्न नसकेपछि तेस्रो पटक म्याद थपिन लागेको सडक आयोजनाका प्रोजेक्ट म्यानेजर चूडाराज ढकालले जानकारी दिनुभयो । आयोजनाले डेढ वर्षको समय मागे पनि एक वर्ष मात्र थपिने ढकालले बताए ।यसअघि दोस्रो पटक ३३० दिनका लागि थपिएको म्याद यही साउन ८ गते सकिँदै छ ।
सडक विस्तारको काम २०७९ साउन २२ मा सम्पन्न गर्ने गरी चीनको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले विसं २०७५ माघ २४ गते सम्झौता गरेसँगै २०७५ चैतमा शिलान्यास गरिएको थियो तर सात वर्षसम्म पनि बाटो विस्तारको कामले सोचे अनुसार गति लिन नसकेपछि तेस्रो पटक म्याद थप्न लागिएको हो ।
मुस्ताङबाट संसारकै अग्लो स्थानमा रहेको तिलिचो ताल जोड्ने पदमार्ग निर्माण र स्तरोन्नति कार्य सम्पन्न
मुस्ताङबाट संसारकै अग्लो स्थानमा रहेको तिलिचो ताल जोड्ने पदमार्ग निर्माण र स्तरोन्नति भएको छ । घरपझोङ गाउँपालिका र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय जोमसोमको सहयोगमा घरपझोङ गाउँपालिकाको ठिनीबाट करिब २३ किलोमिटर पदमार्ग निर्माण र स्तरोन्नति गरिएको हो ।

गाउँपालिकाको दुईवटा शीर्षकको र एक्यापको बजेटबाट फरक–फरक ठाउँमा पदमार्ग निर्माण भएको हो ।
अवरुद्ध बेनी–दरबाङ सडक दश दिनपछि खुल्यो
अवरुद्ध बेनी–दरवाङ सडक दश दिनपछि खुलेको छ । बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतमा गत असार २८ गते पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । चौबीस किलोमिटर सो सडक पश्चिम म्याग्दीको ‘लाइफ लाइन’ मानिन्छ । सडक अवरुद्ध हुँदा आवतजावत, निर्माण र खाद्यान्न सामग्री ढुवानीका साथै बिरामीलाई अस्पताल पु¥याउन समस्या भएको थियो ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।






