जरिवाना बापत झण्डै दुई अर्ब रुपैयाँ राजश्व संकलन


  प्रकाशित मिति : २०८१ साउन ६ गते, ६:२६

काठमाडौँ । ट्राफिक प्रहरीले एक वर्षमा मात्रै जरिवाना बापत झण्डै दुई अर्ब रुपैयाँ राजश्व संकलन गरेको छ ।

नेपाल प्रहरीले पछिल्लो आर्थिक वर्ष २०८०/८१ मा सम्पादन गरेको कामबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा यो आर्थिक वर्षमा १ अर्ब ७५ करोड ८१ लाख ८६ हजार ७६० रुपैयाँ राजश्व संकलन भएको जानकारी दिइएको हो ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार ट्राफिक प्रहरीले सवारी नियम उल्लंघन गर्नेलाई कारबाही गर्दै आएको छ । केन्द्रीय प्रहरी प्रवक्ता दानबहादुर कार्कीका अनुसार सवारी कारबाहीमार्फत राजश्व संकलन प्रहरीको मुख्य जिम्मेवारी नभए पनि यातायात व्यवस्था ऐन अन्तरगत कारबाही गर्ने गरिएको छ ।

‘त्यसअनुसार आर्थिक वर्ष ०८०/८१ मा २२ लाख ९१ हजार ८१७ जनालाई कारबाही गरेर झण्डै दुई अर्ब रुपैयाँ राजश्व सरकारी कोषमा जम्मा गरिएको हो’, डीआईजी कार्कीले भने, ‘यसअघि आर्थिक वर्ष ०७९/८० मा एक अर्ब ८८ करोड १४ लाख ५४ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको थियो ।’

यो आर्थिक वर्षमा सवारी दुर्घटनामा परेर २ हजार ३६९ जनाको मृत्यु भएको छ भने ६ हजार १६० जना गम्भीर र २५ हजार ९९६ जना साधारण घाइते भएको कार्कीले बताउनुभयो । उनका अनुसार, यो अवधिमा ३५ हजार ४०४ सवारी दुर्घटना भएको छ ।

यातायात व्यवस्था ऐनअनुसार निर्धारित भाडादरभन्दा बढी असुली गरे, दुर्घटनामा परेको सवारी तथा यात्रीको हानि नोक्सानी पुर्‍याए, सम्पर्कमा नआए लगायतका कसुरमा ५ हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरेको छ ।

प्रयोजन विपरीत सवारी चलाए, सवारी चालक अनुमतिपत्र प्राप्त नगरी सवारी चलाए र सवारीमा बस्ने वा राख्ने मानिस वा मालसामानको हद निर्धारण गरिएकोमा त्यसभन्दा बढी राखेर चलाए दुई हजार रुपैयाँ जरिवाना हुने व्यवस्था गरेको छ ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।