यातायात बुलेटिन • ३ साउन २०८१


  प्रकाशित मिति : २०८१ साउन ३ गते, ६:११

बाढी पहिरोले मध्यपहाडी राजमार्गको ४० किलोमिटर क्षतिग्रस्त
बाढी पहिरोका कारण पुष्पलाल (मध्यपहाडी) राजमार्गको उद्गम खण्डको १२ किलोमिटर सडकमा धेरै क्षति भएको छ भने समग्रमा ४० किलोमिटर क्षेत्रका पुलपुलेसा, कल्भर्ट बगेका छन् ।

बाढीपहिराका कारण कालोपत्रको चरणमा रहेको उक्त सडकको भागमा क्षति भएको फिदिमस्थित पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय प्रमुख वीरेन्द्रकुमार यादवले जानकारी दिनुभयो । राजमार्गको उद्गमविन्दु चिवाभञ्ज्याङबाट पाँचथरको याङवरक गाउँपालिका–४ दारिम्बासम्म ५१ किलोमिटर सडक कालोपत्रका क्रममा छ । यही खण्डमा असार पहिलो साता परेको अत्यधिक वर्षाले दर्जनौँ स्थानमा पहिरो खस्दा ठूलो क्षति भएको उहाँले बताउनुभयो । यहाँको ओयाम खोला र फलाम खोलामा रहेका पक्की सडक पुल नै बाढीले बगाएको छ । सिलसिले खोलाको पुलमा पनि क्षति भएको छ । बाढीपहिराले यहाँका साना–ठूला गरी आठवटा पुलामा क्षति भएको प्रमुख यादवले बताउनुभयो ।

बाढीपहिराका कारण धेरै स्थानमा सडक पुरिएको छ भने कतिपय स्थानमा दबेर तथा बगेर गएको छ । याङवरक गाउँपालिका–१ च्याङथापु, वडा नं २ फलैँचा, वडा नं ३ ओयाम र वडा नं ४ र ५ थर्पुको सडकमा क्षति भएको । सबैभन्दा बढी वडा नं ३ ओयाममा सडक क्षति भएको याङवरक गाउँपालिका–३ का वडाध्यक्ष विमल राईले बताउनुभयो । वडाध्यक्ष राईका अनुसार बाढीपहिराले अवरुद्ध सडक पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय फिदिम तथा याङवरक गाउँपालिकाको समन्वयमा एकतर्फी सञ्चालन भए पनि सहज बनाउन समय लाग्नेछ । “अहिले मध्यपहाडी राजमार्ग कामचलाउ सञ्चालन भए पनि वर्षा हुनासाथ दुर्घटनाको जोखिम छ”, राईले भन्नुभयो, “अन्य ग्रामीण सडक क्षतविक्षत छन् ।” बाढीपहिराले सडकका अतिरिक्त खानेपानीका मुहान तथा ट्याङ्की, लघुजलविद्युत् योजना, सिँचाइका योजनामा पनि ठूलो क्षति भएको छ । याङवरक–२ का वडाध्यक्ष देउकुमार योङहाङका अनुसार स्थानीयवासीका आयआर्जनको मुख्य माध्यम अलैँचीखेती हुने सयौँ रोपनी जमिन पहिराले बगाएको छ ।

बाढीले गत वर्ष मध्यपहाडी राजमार्गमै पर्ने दोभान खोलाको सडक पुल बगाएको थियो । उक्त पुल हालसम्म पुनःनिर्माण भएको छैन । यसैबीच, याङवरकका पाँचवटा वडामा भएको क्षतिको विवरण सङ्कलन भइरहेको गाउँपालिका उपाध्यक्ष बाबा मेन्याङ्बोले राससलाई जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालयले बाढीपहिराबाट हालसम्म १० परिवार पूर्ण रूपमा विस्थापित भएका जनाएको छ ।

बानेश्वरमा गुडिरहेको बसबाट निस्कियो धुँवाको मुस्लो
काठमाडौंको नयाँबानेश्वरमा गुडिरहेको एउटा बसबाट धुँवाको मुस्लो निस्किँदा केही बेर जनजीवन आतंकित बन्यो ।
बानेश्वर चोकनजिकै पेट्रोल पम्पभन्दा केही अगाडिको सडकमा गुडिरहेको बसमा अचानक बाक्लो धुँवाको मुस्लो निस्किएको हो । भक्तपुरबाट काठमाडौंको रत्नपार्क जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९५५४ नम्बरको बस नयाँबानेश्वरस्थित संसद भवनअगाडिको सडकमा पुग्दा घटना भएको हो ।बुधबार बिहान पौने ११ बजेतिर धुँवाको मुस्लो देखिएपछि बस रोकेर सबै यात्रु झारिएको थियो ।

इन्जिनबाट धुँवाको मुस्लो निस्किएपछि सडकमै रोकेर अग्निनियन्त्रक पनि बोलाइएको थियो । बसलाई प्राविधिक बोलाएर मर्मत गरिएको छ ।नयाँ बानेश्वर बृत्तका डीएसपी शिवराज बुढाथोकीका अनुसार बाक्लो धुँवाको मुस्लो निस्किएपछि आगो लागेर फैलिन भने पाएन ।

छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा पछिल्लो २४ घण्टाको अवधिमा ५ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार सुनसरीको धरान नगरपालिका–१३ स्थित सडकमा प्रदेश १–०२–००२ ख ०१६० नम्बरको ट्रकमा प्रदेश १–०२–०४८ प ४९२४ नम्बरको मोटरसाइकल ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक धरान उपमहानगरपालिका–२० बस्ने २० वर्षीय समर्पण राईको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको बिजयपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी सुनसरीकै हरिनगरा गाउँपालिका–२ स्थित सडकमा भुटाहाबाट हरिनगरातर्फ जाँदै गरेको बीआर ३८ एक्स ८२४७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका–१ बस्ने ५० वर्षीया दुखनी देवी दासको बुधबार बेलुकी मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको गोल्डेन अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी सुनसरीकै कोशी गाउँपालिका–२ साह टोलस्थित सडकमा मधुवनबाट लौकहीतर्फ जाँदै गरेको प्रदेश.१–०२–००४ ह १४०६ नम्बरको सिटि सफारीको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६५ वर्षीया मालती देवी साहको बुधबार बेलुकी मृत्यु भएको छ । ठक्कबाट गम्भीर घाइते भएकी उनको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । सफारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रूपन्देहीको तिलोत्तमा नगरपालका–१५ कोटिहवास्थित सडकमा पनि भैरहवाबाट बुटबलतर्फ जाँदै गरेको लु.३२ प ९२९० नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा चालक बुटवल उपमहानगरपालिका–१३ नयाँगाउँ बस्ने ४० वर्षीय प्रेम थापा मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी कञ्चनपुरको भिमदत्त नगरपालिका–४ ब्रह्मदेब हाइवे जिरो प्वाईन्टस्थित सडकमा म.१ प ११४५ नम्बरको मोटरसाइकल बुधबार राति दुर्घटना हुँदा चालक शुक्लाफाटा नगरपालिका–५ बस्ने ४० वर्षीय रूद्र बहादुर ओलीको मृत्यु भएको छ । उक्त मोटरसाइकलले म.२ प ७२७१ नम्बरको मोटरसाइकललाई ठक्कर दिई दुर्घटना हुँदा गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका म.२ प ७२७१ नम्बरको मोटरसाइकल चालकको मायामेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

एञ्जल बस चालकका छोराछोरीको अध्ययनको जिम्मेवारी वीरगञ्ज महानगरले लिने
वीरगञ्ज महानगरपालिकाले सिमलताल पहिरोमा पररी हराइरहेका एञ्जल बसका चालक जवाहीर महतोको तीनजना छोराछोरीको अध्ययनको सम्पूर्ण जिम्मेवारी लिने भएको छ ।
आज बिहान वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले एञ्जल बसका चालक जवाहीर महतोको परिवारसँग भेट गर्नुभयो ।

“बालबालिकाको अध्ययनको सम्पूर्ण जिम्मेवारी महानगरले लिनेछ”, नगरप्रमुख सिंहले भन्नुभयो, “जवाहीरको परिवारको जीविकोपार्जनका लागि आवश्यक व्यवस्था मिलाउन महानगरले योजना बनाएर कार्यान्वयन गर्नेछ ।” जवाहीरका एक छोरी र दुई छोरा छन् । महतोले चलाएको बागमती प्रदेश ०३ ०१–००ख १५१६ नम्बरको एञ्जल डिलक्स रात्रि बस गत शुक्रबार बिहानीपख भरतपुर महानगरपालिका–२९ सिमलताल नजिकै पहिरोमा परेर त्रिशूली नदीमा खसेको थियो । नगरप्रमुख सिंहले आजै एञ्जल बसमा सवार भएर दुर्घटनामा परेका अन्य परिवारका सदस्यलाई पनि भेट गर्दै महानगर पीडित परिवारको साथमा रहेको बताउनुभयो ।

प्रभु बैंक र एवन ग्रेटर नेपाल यातायातबीच नगदरहित भुक्तानी प्रणालीमा सहकार्य
प्रभु बैंक र एवन ग्रेटर नेपाल यातायात बीच नगदरहित भुक्तानी प्रणालीमा सहकार्य भएको छ ।

ट्याक्सी व्यवसायीहरुले कम्पनीको खाताबाट सहज रुपमा रकम झिक्न तथा आफ्नो खाताको पूर्ण जानकारी मोवाइल एप्लिकेशनबाटै प्राप्त गर्न सक्नेछन् । विभिन्न बैंक तथा वित्तीय संस्था तथा अन्य गेट–वेमार्फत् रकमान्तर तथा भुक्तानी गर्न, महशुल तथा शुल्क भुक्तानी गर्न, सार्वजनिक यातायातमा हुने भुक्तानीलाई विद्युतीय भुक्तानी प्रणलीमा आवद्ध गराउने उद्धेष्यले कम्पनी र एवन ग्रेटर नेपाल यातायात बीच बुधबार एक सम्झौतामा हस्ताक्षर भएको छ ।

उक्त सम्झौतामा कम्पनीका गण्डकी प्रदेश प्रमुख तथा व्यवसाय केन्द्र अधिकृत शान्ती शेरचनको विशेष उपस्थितिमा प्रमुख प्रदेश अधिकृत राजु राना मगर तथा एवन ग्रेटर नेपाल यातायातको तर्फबाट अध्यक्ष अर्जुन पौडेलले हस्ताक्षर गरेका छन् । अब विशेषगरी सार्वजनिक यातायातका सेवाग्राहीहरुले ट्याक्सी चालकहरुसँग रहेको बैंकको क्यूआरमार्फत विना झण्झट सजिलै ट्याक्सी भाडा भुक्तानी गर्न सक्नेछन् । व्यवसायमा आबद्ध २०० भन्दा बढी ट्याक्सी चालकहरुका लागि बैंकको तर्फबाट क्यूआर, डेबिट कार्ड तथा डिजिटल सचेतनासँग सम्बन्धित सामग्रीहरु उपलब्ध गराउने कार्यक्रम रहेको कम्पनीले बताएको छ ।

बेनिघाट–आरुघाट सडक अवरुद्ध
गोरखाको बेनिघाट–आरुघाट सडकखण्डअन्तर्गत पर्ने ज्यादुल खोलामा रहेको डाइभर्सन पुलमा बाढीले क्षति पु¥याएपछि सडक अवरुद्ध भएको छ । भीमसेन थापा गाउँपालिका–७ र सहिद लखन गाउँपालिका–९ जोड्ने ज्यादुल खोला डाइभर्सन पुल बगाएपछि सो सडकखण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको भीमसेन थापा गाउँपालिका–७ का वडाध्यक्ष नारायण श्रेष्ठले जानकारी दिनुभयो । गत वर्ष निर्माण भएको डाइभर्सन पुल एक वर्ष पूरा नहुँदै बाढीले क्षति पु¥याएको हो । भीषण बाढीले पुलको दायाँबायाँ रहेको ‘ग्याविन वाल’ पनि बगाएको छ । पुल भत्किएपछि बेनिघाट–आरुघाट सडकखण्डमा यातायात पूर्ण रूपमा ठप्प भएको छ ।

‘सडक अवरुद्ध हुँदा काठमाडौँबाट बेनिघाट, आरुघाट हुँदै आर्खेतसम्म नियमित सञ्चालन हुने सवारीसाधन चल्न सकेका छैनन्, वडाध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘सिमलटार, पिपलटार महादेवटारलगायत तल्लो क्षेत्र हुँदै गोरखा सदरमुकाम सम्म आवतजावत गर्न गर्न असहज भएको छ ।’

Tags :

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।