बिहीबारदेखि लगातार परेको वर्षाका कारण महाकाली लोकमार्गको खलंगा–गोकुलेश्वर सडकखण्ड अवरुद्ध भएको छ । सडक बन्द भएपछि सयौँ यात्रु बाटोमै अलपत्र परेका छन् । खलंगा–गोकुलेश्वर सडकखण्डको पनेबाजदेखि ऐरिछानासम्म ठाउँ ठाउँमा पहिरो खसेको छ ।
पहिराको कारण आइतबार जिल्लाबाट बाहिरिने र जिल्ला भित्रिने यातायातका साधन बाटोमै थन्किएका छन् । दार्चुलाबाट महेन्द्रनगर, धनगढी, काठमाडौँलगायतका लागि छुटेका सवारीसाधन बाटोमै रोकिएका छन् । लोकमार्गमा छोटो दूरीका सवारीसाधनसमेत सञ्चालन हुन नसकेका सडक विभागका सुपरभाइजर राजेन्द्रसिंह धामीले जानकारी दिए ।
आज बिहानैदेखि सडक डिभिजन कार्यालय पाटनले पहिरो पन्छाउने काम गरिरहेको छ । लगातारको वर्षाका कारण लोकमार्ग खुलाउन समस्या भएको उनले बताए । दार्चुलामा चार दिनदेखि पानी परिरहेको छ ।
भारतले धौलीगंगा बाँध खोल्दै, सतर्कता अपनाउन आग्रह
यसैबीच भारतले उत्तराखण्ड प्रान्तको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत् परियोजनाको बाँधको ढोका खोल्न लागेको जनाएको छ । यही असार २९ गतेदेखि असार ३० गतेसम्म उक्त बाँधका ढोका खोलिने एनएचपीसी लिमिटेड र धौलिगंगा आयोजनाले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पठाएको पत्रमा उल्लेख छ ।
बाँधको ढोका खोलेका बेला महाकाली नदीको जलस्तर बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए । सरसफाइका लागि बाँधको ढोका खोल्न लागिएको उनले बताए । बाँध खोलेको बेला नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ ।
दार्चुलादेखि बैतडी, डडेल्धुरा र कञ्चनपुर भएर बग्ने महाकालीमा पानीको बहाव बढ्न सक्ने भएका कारण नदी छेउछाउ नजान र सतर्कता अपनाउन स्थानीय प्रशासनले अनुरोध गरेको छ । यसअघि यही सार १५ गते पनि उक्त बाँधको ढोका खोलिएका थिए ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।







