ठेउलेखोलामा आएको बाढीले सडक बगाउँदा कालीगण्डकी करिडोर अवरुद्ध


  प्रकाशित मिति : २०८१ असार १९ गते, ७:५४

ढोरपाटन (बागलुङ)- अविरल वर्षाका कारण ठेउलेखोलामा आएको बाढीले सडक बगाउँदा कालीगण्डकी करिडोर पूर्ण अवरुद्ध भएको छ ।

 बागलुङको जैमिनी नगरपालिका–१ स्थित ठेउलेखोलामा आएको बाढीले सडक बगाउँदा बुटवल, भैरहवा, कपिलवस्तु, दाङ, मुक्तिनाथ  जाने सवारी साधन आवतजावत  ठप्प भएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजय यादवले करिडोर अवरुद्ध हुँदा जैमिनी नगरपालिकाको वाइनकुना, जैदी, छिस्ती, जैदी, अर्जेवा, बिनामारे र बरेङ गाउँपालिकाका विभिन्न ठाउँबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउने सवारी साधन समेत रोकिएका बताए । वर्षा रोकिएपछि कोरिडोर आयोजनाले खुलाउने प्रयास गरिने उनले जानकारी दिए। केही दिनदेखि परेको वर्षाले राष्ट्रिय गौरवको आयोजना मध्य पहाडी लोक मार्गमा क्षति पुर्‍याएको छ । 

खास गरी गलकोट नगरपालिका–३ हटियादेखि बडिगाड गाउँपालिका–२ हाँडी खोलासम्मको करिब १५ किलोमिटर सडकमा क्षति पुगेको हो । यद्यपि पहिरो पन्छाएर लोकमार्ग भने सञ्चालनमा आएको गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले जानकारी दिए । 

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।