हाँडेभीर–बगरफाँट–भकिम्ली कृषि सडकको स्तरोन्नति


  प्रकाशित मिति : २०८१ असार १६ गते, ११:१८

ट्रयाक खुलेको १८ वर्षपछि म्याग्दीको सदरमुकाम बेनी हुँदै हाँडेभीर–बगरफाँट–भकिम्ली जोड्ने सात किलोमिटर कृषि सडकको स्तरोन्नति सुरु भएको छ ।

विसं २०६३ मा ट्रयाक खुलेको सात किलोमिटर लामो उक्त सडकको बगरफाँट–दूधेखोला खण्डको तीन किलोमिटर सडक ग्राभेल र दूधेखोलाबाट भकिम्लीतर्फको ३९० मिटर सडक ढलान गर्न थालिएको हो ।

भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालयले पाँच करोड ५९ लाखको लागतमा सडक निर्माण पूरा गरिने जनाएको छ ।

जिल्ला पूर्वाधार विकास कार्यालयका सबइन्जिनियर रविन चोखालका अनुसार हाँडेभीरबाट बगरफाँटको बुद्ध एकेडेमीसम्म दुई किलोमिटर कालोपत्र भइसकेको छ ।

उनले भने, ‘आगामी १८ महिनामा बगरफाँटबाट दूधेखोलासम्मको तीन किमी सडक ग्राभेल र दूधेखोलाबाट भकिम्लीतर्फको ३९० मिटर सडक ढलान गर्ने लक्ष्य छ ।’

गण्डकी प्रदेश सरकारले चालु आवमा दुई करोड बजेट यस सडकलाई विनियोजन गरेको र बहुवर्षीय ठेक्का लगाउन १० करोड बजेटको स्रोत सुनिश्चितता भइसकेको गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले बताए ।

यो सडक बेनी नगरपालिकाको वडा नं २ बगरफाँट, वडा नं ३ भकिम्ली, मंगला गाउँपालिकाको ३ र ४ नम्बर वडाका बासिन्दा तथा  पश्चिम म्याग्दीको मालिका गाउँपालिका–५ ओखरबोटको सोलेडाँडा भएर बागलुङको तमान, लामेलासम्म विस्तार गर्ने लक्ष्य छ ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।