बुद्ध एयरले ७२ सिटे जहाजबाट काठमाडौँ-भरतपुर उडान गर्ने


  प्रकाशित मिति : २०८१ असार ९ गते, २:२४

चितवन- बुद्ध एयरले ७२ सिटे जहाजबाट काठमाडौँ–भरतपुर उडान गर्ने भएको छ । धावनमार्ग छोटो भएका कारण विगतमा ४२ सिटे जहाजबाट उडान गर्दै आएको बुद्धले अब ७२ सिटे जहाजबाट उडान गर्न लागेको हो ।

बुद्ध एयर भरतपुरका प्रबन्धक भक्तबहादुर बस्नेतले एक सातापछि ठूलो जहाज सञ्चालन गर्ने तयारी रहेको जानकारी दिए । गत साता श्री एयरले काठमाण्डौँ–भरतपुर ८० सिटे जहाजको परीक्षण उडान गरिसकेको छ । बस्नेतका अनुसार एयरलायन्सले अनुमति प्राप्त गरिसकेकाले परीक्षण उडानसँगै नियमित उडान गरिनेछ ।

धावनमार्ग छोटो भएकाले जहाजका सबै सिट भरेर सञ्चालन गर्न नसकिने उनले बताए । बस्नेतका अनुसार जहाजले काठमाडौँबाट भरतपुर आउँदा ६० देखि ६२ जना र भरतपुरबाट काठमाडौँ जाँदा ५० देखि ६० जना यात्रु बोक्ने अनुमान गरिएको छ । अहिले बुद्धको एटिआर–४२ जहाज काठमाडौँ र पोखरा सञ्चालन हुँदै आएका छन् । काठमाडौँ–भरतपुर दैनिक नौवटा र भरतपुर पोखरा दैनिक एउटा सञ्चालनमा छ । यो जहाजको क्षमता ४७ सिट भए पनि धावनमार्ग र गर्मीका कारण पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन ।

अब सञ्चालन गर्न लागिएको जहाज एटिआर–७२ हो । बुद्धले सन् २००५ बाट नियमित भरतपुर उडान गर्दै आएको छ । अहिले मासिक ११ हजार भन्दा बढी यात्रुलाई बुद्ध एयरले सेवा दिइसकेको छ । साना जहाज उडान हुँदा एकतर्फी भाडा रु चार हजार सात सय भन्दा बढी छ । ठूला जहाज सञ्चालन भएसँगै हवाई भाडा घट्ने जनाइएको छ । भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन निर्माण र धावन मार्गसमेत विस्तार हुँदैछ ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।