‘एडीटीटी’ प्रविधिले लाइसेन्स ट्रायलमा हुने सेटिङ रोकिने दाबी  


  प्रकाशित मिति : २०८१ जेष्ठ २१ गते, ५:३२

काठमाडौँ : ‘एडीटीटी’ (अटोमेटेड ड्राइभिङ टेस्ट ट्रयाक) प्रविधिले ट्रायलमा हुने गरेको सेटिङ रोक्न सकिने यातायात व्यवस्था विभागले जनाएको छ  । वाग्मती प्रदेशको यातायात मन्त्रालयलाई यो प्रविधि लागू गर्न विभागले जेठ ८ मा पत्र लेखेर पठाइसकेको छ । यो प्रविधि लागू गर्न सकिए ट्रायलमा हुने विकृति रोक्न सकिने दाबी विभागका सूचना प्रविधि शाखाका निर्देशक मुकेश रेग्मीले गर्नुभयो ।
‘अहिले ट्रायल दिँदा पास फेल भएको कुरा ट्राफिक प्रहरीले सिठी फुकेर भन्ने गर्छन्, यस्तो अवस्थामा पास भएको मान्छे पनि फेल हुने, फेल भएको मान्छे पनि पास हुने भइरहेको छ,’ उहाँले भन्नुभयो ।
यसमा क्यामेराले सबै ट्रयाक मोनिटर गरेको हुन्छ, यदि त्यो ट्रयाकमा सवारी साधनले छोयो भने सफ्टवेयरले नै तगारो लगाइदिन्छ, त्यहींबाट ट्रायल दिने मान्छे फेल भएमा बाहिरिन्छ । उहाँका अनुसार यो प्रविधि लागू गर्न सकिए ट्रायलमा हुने सेटिङ पूरै शून्य हुनेछ  ।
यो प्रविधि लागू गर्न मन्त्रालय सकारात्मक देखिएको विभागका महानिर्देशक उद्धव रिजालको भनाइ छ ।
एडीटीटीबारे चालु आर्थिक वर्षकै बजेटमा राखिए पनि त्यसका लागि जग्गा प्राप्ति हुन नसकेको वाग्मती प्रदेशको यातायात मन्त्रालयका प्रदेश सचिव निरौलाले बताउनुभयो । अर्को आर्थिक वर्षमा कार्यक्रम राखेर सम्भाव्यता अध्ययन गरी जग्गा प्राप्ति गरेर सरकारी ट्रायल सेन्टरका रूपमा चलाउने सोचमा रहेको उहाँको प्रस्ताव छ ।

  

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।